कुवेतमा थप ९ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८४ पुग्यो

कुवेतमा थप ९ नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८४ पुग्यो

कुवेतमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८४ जना पुगेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि कुवेतमा ७५ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ । कुवेतले निको भएका सङ्क्रमितको भने राष्ट्रियता नखुलाउने भएकाले सङ्क्रमित नेपाली श्रमिक निको भए नभएको बारे दूतावासलाई जानकारी नहुने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताउनुभयो ।

कुवेतमा हुने नेपालीमा कसैलाई पनि कोरोना सङ्क्रमणको संका लागेमा रोजगारदातालाई खबर गर्न र सुरक्षा सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । र आफ्नो आवास छाडेर कतै पनि नजान पनि दूतावासले आग्रह गरेको छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि निको हुनेको सङ्ख्या पनि बढिरहेकाले यसबाट नआत्तिन र उच्च मनोवलकासाथ रहन पनि दूतावासले कुवेतमा कार्यरत सबै नेपालीलाई आग्रह गरेको छ ।

यसै बिच

नेपालमा आइतबार थप १६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार दिउँसो नेपालगञ्जका ९ र पर्साका एक जनामा कोरोना पुष्टि भएकोमा अहिले नेपालगञ्जका थप ६ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेकाे छ ।

आज दिउँसो कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उनी बालक वा बालिका भन्नेबारेमा भने केही पनि खुलेको छैन । उनी नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएका सबैभन्दा सानो उमेरका व्यक्ति हुन् ।

आज संक्रमण पुष्टि भएका ९ जनालाई नै नेपालगञ्जकाे कोरोना अस्पतालमा ल्याउन स्वास्थ्यकर्मीको टोली प्रभावित ठाउँमा पुगेको छ । डाक्टर देवकोटाका अनुसार अहिले विराटनगरमा ३१ जना, वीरगञ्जका आज भेटिएका एक जना नयाँ बिरामीसहित ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक/एक जना गरी ४४ जनाको उपचार भइरहेको छ ।

१६ जना भने उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार आजसम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेकाे पनि उहाँले जानकारी दिनुभयो ।