बज्यो खतराको घन्टी ,थप १० जनामा कोरोना संक्रमण पुष्टि

बज्यो खतराको घन्टी ,थप १० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पर्सामा ३६ वर्षीया पुरुष र नेपालगञ्जको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार नेपालगञ्जमा देखिएका कोरोना संक्रमित ५ जना पुरुष र४ जना महिला छन् । उनीहर ७ देखि ५८ वर्ष उमेरका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

डा देवकोटाका अनुसार पर्सामा देखिएका ३६ वर्षीया कोरोना संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो भने अन्य ९ जनाको नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

आज संक्रमण पुष्टि भएका मध्ये वीरगञ्जका संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यस्तै नेपालगञ्जमा संक्रमण पुष्टि भएका ९ जनालाई नेपालगञ्जको कोरोना विशेष अस्पतालमा लगिदै गरेको प्रवक्ता देवकोटाले बताए ।

यो अनि पढ्नुहोस

यसै बीच उता

भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् ।

भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् ।

भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ ।

गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २६२ जनाको मृत्यु भएको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २५६ जनाको उपचार गरिएको छ ।

त्यसैगरी मध्यप्रदेशमा २ हजार ८४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६२४ जना ठीक भएका र १५१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४८७ जनामा कोरोना देखिएकामा ६८९ जना निको भएका छन् ।

भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।