चिच्याएर बासेको आरोपमा कुखुराको भालेलाई गाउँ निकाला

चिच्याएर बासेको आरोपमा कुखुराको भालेलाई गाउँ निकाला

दण्ड स्वरुप मान्छेहरु गाउँ निकाला वा देश निकाला भएका समाचार त सुनिएकै थियो । तर यो दुनियाँमा कुखुराको भालेसमेत गाउँ निकाला हुँदो रहेछ । भालेलाई गाउँ निकाला गर्नुको कारण पनि अचम्मकै छ । वास्तवमा ठूलो आवाजमा कुखुरी काँ…गरेर बासेको अभियोगमा उक्त भाले गाउँ निकालामा परेको हो ।

आखिर कुखुराको भालेको कामै बास्ने त हो । तर आफ्नो यो पहिचान एउटा भालेका लागि अभिशाप बन्यो । यसरी चिच्याएर बासेको आरोपमा एउटा भाले गाउँ निकालामा परेको घटना युरोपेली मुलुक अष्ट्रियाको हो ।

अष्ट्रियाको मार्कस्र्डर्फमा   कुखुराको भाले बासेका कारण गाउँलेहरुलाई डिस्टर्ब भएपछि भालेविरुद्ध उजुरी पर्‍यो । उक्त भालेको आवाजले दिक्क बनाएको भन्दै धेरै गाउँलेहरुले उजुरी गरे । जसका कारण भालेलाई गाउँ निकाला गर्ने निर्णय भएको छ । उसका लागि नयाँ वासस्थान खोज्ने प्रक्रिया अघि बढिसकेको छ ।

स्थानीय एउटा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै स्थानीय एक जना महिलाको घरमा पालेर राखेको उक्त भालेको आवाज स्थानीयवासीहरुलाई पटक्कै चित्त बुझेन । विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै विद्यालयले उक्त घरमा तिनवटा कुखुरा पालेको थियो । त्यसमध्ये दुईवटा भाले र एउटा पोथी थियो ।

भालेहरु पटक-पटक जोडसँग बास्ने मात्र नभै एक आपसमा लडाइँ झगडा गर्दासमेत ठूलो-ठूलो आवाज निकाल्ने भएपछि दुईवटा भालेमध्ये ठूलो आवाज निकाल्ने भालेलाई त्यहाँबाट निकाला गर्ने निर्णय गरिएको हो । तर एउटा भाले र अर्को पोथी भने त्यहीँ नै रहन पाउनेछन् ।

कुखुरा पाल्ने ती महिलाले भने उक्त भाले निकै असल स्वभावको रहेको र आवाज मात्रै ठूलो रहेको बताएकी छिन् । गाउँ निकाला गरिने भालेका लागि नयाँ घरको खोजी भैरहेको तर अहिलेसम्म कुखुरा पाल्ने मानिस फेला नपरेको उनको भनाइ छ ।

यदि उक्त कुखुरा पाल्ने मानिस फेला नपरेमा चाहीँ कुखुरालाई बधशालामा पठाइनेछ। एजेन्सी

यो पनि पढ्नुहोस

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का बेला जन्मिएको भन्दै भारतमा जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’ राखिएको छ ।

बीबीसीका अनुसार भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाका नाम कोरोना र कोभिड राखिएको हो ।

कोरोनाको प्रकोपका बेला जन्मिएका उनीहरूको नाम अभिभावकले कोरोना र कोभिड राखेको बीबीसीले जनाएको छ ।

ती जुम्ल्याहा रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका हुन् ।

उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ती जुम्ल्याहाकी आमाले बच्चा जन्माउँदा निकै कठिनाइ भएको बताइन् ।

उनले भनिन्, ‘हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ ।’

उनलाई २६ मार्चमा बेथा लागेको थियो भने त्यसको भोलिपल्ट जुम्ल्याहा जन्माएकी थिइन् ।