गाईबाख्रा चराउन गएका थिए, खेलौना ठानेको बमले लियो ज्यान

गाईबाख्रा चराउन गएका थिए, खेलौना ठानेको बमले लियो ज्यान

रोल्पामा जंगलमा छोडिएको बेवारिसे बम विष्फोट हुँदा गाईबाख्रा चराउन गएका चार बालबालिकाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेका छन्।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता नवराज पोखरेलले गाई बाख्रा चराउन गएका बच्चाहरुले बेवारिसे अवस्थामा रहेको बमलाई खेलौना ठानेर खेलाउन खोज्दा विष्फोट हुन गई चार बालिबालिको एकै साथ मृत्यु भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बेलुका ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे अवस्थामा रहेको टुईञ्च मोटर बम चलाएपछि विस्फोट हुँदा दुःखद घटना भएको जानकारी दिए।

‘बेवारिसे अवस्थामा त्यहाँ दुईवटा टुईञ्च मोटर बम जंगलमा रहेछन्, त्यसमध्ये एउटालाई बच्चाहरुले खेलाउना ठानेर खेलाउँदै गर्दा अचानक विष्फोट भई उनीहरुको घटानास्थलमै मृत्यु हुन पुग्यो,’ डिएसपी गुरुङले भने।

घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी गएको हुँदा शवलाई प्राथमिक स्वास्थ्य चौकी होलेरीमा ल्याउन आग्रह गरिएको डिएसपी गुरुङले जानकारी दिए। सेतो पाटीमा खबर छ

उक्त बम सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीले छोडेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।