प्रदेश-२ : कोरोना सङ्क्रमित भेटिएको क्षेत्र ‘सिल’

प्रदेश-२ : कोरोना सङ्क्रमित भेटिएको क्षेत्र ‘सिल’

प्रदेश-२ मा बुधबार थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ ।

बाराको सिमरौनगढ नगरपालिका–४ घर भई जितपुर सिमरा–१९ को मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराउनुभएको हो । वैशाख १४ गते वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनै जनाको खोजी गरी क्वरेन्टीनमा राखिएको थियो ।

मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र वडा नं ७ का ४३ वर्षीय युवकलाई सिमराको अस्थायी विशेष क्वरेन्टीन अस्पतालमा राखिएको थियो । त्यसपछि, दुवैलाई वीरगञ्जको छपकैयामा ल्याएर स्वाब सङ्कलन गरिएको थियो । यी दुवै जना भारतको एक धार्मिक कार्यक्रममा सहभागी भएर फागुन २८ गते फर्केका थिए ।

३१ वर्षीय युवक मस्जिदमा र ४३ वर्षीय व्यक्ति आफ्नै घरमा बसेको सचिव डा घिमिरेले जानकारी गराउनुभयो । त्यस्तै, वैशाख १४ गते कोरोना पुष्टि भएका व्यक्तिको विवरणको आधारमा वीरगञ्ज-२ बस्ने ४६ वर्षीय व्यक्तिको स्वाबको नमुना सङ्कलन गरिएको थियो । तीनै जनालाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यस प्रदेशमा अहिलेसम्म दुई हजार दुई सय १८ को स्वाबको नमुना सङ्कलन गरिएकामा एक हजार ३ सय ५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८ सय ५६ को रिपोर्ट आउन बाँकी छ ।

यस प्रदेशमा १० जना कोरोना सङ्क्रमितमध्ये चार जना उपचार गरएर घर फर्किसकेका छन् भने छ जनाको उपचार भइरहेको छ ।
अहिलेसम्म चार हजार ९ सय १४ को आरडीटी परीक्षण गरिएको छ । यस प्रदेशमा एक हजार ४४३ क्वरेन्टीनमा चार हजार १७ जना होम क्वरेन्टीनमा र १३ जना आइसोलेशनमा छन् ।