कोरिया जाने अनुमति पाएकालाई एनआरएनएले वाइडबडी जहाज चार्टर गरेर पठाउने

कोरिया जाने अनुमति पाएकालाई एनआरएनएले वाइडबडी जहाज चार्टर गरेर पठाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ईपीएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जाने अनुमती पाएकालाई नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार, भिसासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका १ हजार ३ जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पुर्‍याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्न लागिएको छ ।

वाइडबडी जहाज कोरिया पठाउन नेपाल वायु सेवा निगमसँग आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार संघले पहिलो चरणमा १० लाख रुपैयाँ धरौटीसहित मंगलबार प्रारम्भिक सम्झौता गरेको छ ।

अन्तर्राष्ट्रिय उडानसम्वन्धी सम्पूर्ण प्रकृया र श्रमिकहरुको स्वास्थ्य जाँचको काम पूरा भए अर्को साताभित्रै वाइडबडी जहाज नेपाली श्रमिक बोकेर दक्षिण कोरिया उड्ने श्रेष्ठले बताउनुभयो ।

गएको आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो । श्रम मन्त्रालयले पनि आफ्नै खर्चमा जान चाहेमा पठाउने भनेर सुचना निकालेको छ ।

यस्तै, अध्यक्ष पन्तले कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरिएको बताउनुभयो ।

यसैबीच विदेशमा कोभिड–१९ ले प्रभावित नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली संघ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सोमबार छलफल भएको छ ।

बैठकमा संघका तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले विदेशमा अलपत्र परेका ४ लाखभन्दा बढी नेपाली तत्काल स्वदेश फर्कन चाहेको जानकारी दिँदै फर्किने वातावारण तयार गर्न मन्त्री ज्ञवालीसमक्ष आग्रह गर्नुभएको थियो ।

बैठकमा परराष्ट्र मन्त्री ज्ञावालीले नेपाल सरकार विदेशमा रहेका नेपाली फर्काउन सकरात्मक रहेको बताउनुभएको थियो । मन्त्री ज्ञावालीले भन्नुभयो ‘अहिले अन्तर्राष्ट्रिय स्तरमै लकडाउन छ, त्यो खुले भएपछि सरकारले प्राथमिकताको आधारमा नेपालीलाई फिर्ता ल्याउने छ ।’

‘कागजी प्रकृया पूरा नगरेका, अस्थायी भिसा भएका, गर्भवती महिला र कुवेतलगायतका देशमा आममाफी पाएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर नेपाल ल्याइने छ’ मन्त्री ज्ञावलीले भन्नुभयो, ‘अहिले धैर्य गर्नुहोस् सरकार विदेशमा बस्ने नेपालीको समस्यामा चिन्तित छ । लकडाउन खुल्नेबित्तिकै गैरआवासीय नेपाली संघसँग समन्वय गरेर विदेशमा रहेका नेपाली फिर्तालाई प्राथामिकता राखेर सरकारले योजना बनाउने छ ।’