मे ३ पछि पनि लकडाउन बढाउन मुख्यमन्त्रीहरुको सुझाव

मे ३ पछि पनि लकडाउन बढाउन  मुख्यमन्त्रीहरुको सुझाव

भारतमा लकडाउनको दोस्रो चरण मे ३ मा सकिँदैछ । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग लकडाउनको स्थितिको बारेमा समीक्षा गरेका छन् ।

भिडियो कन्फरेन्सको माध्यमबाट गरिएको बैठक करीब ३ घण्टा चलेको थियो । समयको पाबन्दीका कारण मात्र ९ जना मुख्यमन्त्रीहरुले बोल्ने समय पाएका थिए ।

मेघालयका मुख्यमन्त्री कोनराड संगमाले आफ्नो राज्यमा लकडाउन ३ मेपछि पनि जारी राख्न चाहेको बताए । यद्यपि, ग्रीन जोन क्षेत्रलाई केही छुट दिइने उनले उल्लेख गरे । ओडिशा र गोवाका मुख्यमन्त्रीले पनि लकडाउनको अवधि बढाउन सुझाव दिए ।

लकडाउनको दोस्रो चरण ३ मेमा सकिन अघि नै अर्थव्यवस्थामा सुधार ल्याउन केन्द्र सरकारले ३० र २५ अप्रिल गरेर दुईपटक लकडाउनमा छुट दिइसकेको छ । यद्यपि, कहाँ–कहाँ पसल खोल्ने र आर्थिक गतिविधि सुरु गर्ने फैसला राज्य सरकारमा छोडिएको छ ।

बैठकमा प्रधानमन्त्री मोदीले लकडाउनको नतिजा सकारात्मक रहेको र डेढ महिनामा आफूहरुले हजारौँको जीवन रक्षा गर्न सफल भएको जिकिर गरेका थिए । उनले कोरोनाभाइरसको संकट अझै नटलेको यो केही महिना अझै कायम रहने बताएका थिए । उनले अब देशको अर्थव्यवस्थामा पनि ध्यान दिनुपर्ने बताउँदै प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।

आजको बैठकमा केरल राज्यका मुख्यमन्त्री वी विजयन भिडियो कन्फरेन्समा सामेल भएनन् । उनको स्थानमा मुख्यसचिव टम जोस सामेल बनेका थिए । उता, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बैठकमा भाग लिएर सबैलाई चकित पारिन् । बैठकमा ठूला राज्यलाई बोल्ने अनुमति नदिएकोमा मोदीप्रति उनी असन्तुष्ट रहेको बताइएको छ ।

पुडुचेरीका मुख्मन्त्री वी नारायाणसामीले अधिकांश भाजपा शासिन राज्यका मुख्यमन्त्रीहरु लकडाउन बढाउने पक्षमा रहेको बताए । उनीहरुले आर्थिक गतिविधि बिस्तारै सुरु गर्नुपर्ने सुझाव दिएका थिए ।

यसअघि गत ११ अप्रिलमा मोदी र मुख्यमन्त्रीहरुबीच छलफल भएको थियो ।