लकडाउन एक हप्ता थप गर्न सिफारिस

लकडाउन एक हप्ता थप गर्न सिफारिस

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको शनिवार बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार दिउँसो बसेको बैठकले लकडाउनको मोडालिटी टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

यसअघि आजै बसेको उच्चस्तरीय समितिको बैठकले समेत लकडाउन खोल्न उपयुक्त अवस्था नबनेको निष्कर्ष निकालेको थियो । बैठकले आन्तरिक तथा वाह्य हवाई उडानलाई जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै कार्यदलले पनि नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता थप गर्न सिफारिस गरेको हो ।

कार्यदलमा केही हिमाली जिल्ला र संक्रमणको जोखिम नभएका स्थानमा भने लकडाउन खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ ।

काठमाडौं पोखराजस्ता संक्रमणका नदेखिएका मुख्य क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाउने प्रस्ताव आएको भएपनि निर्णय भने भइनसकेको एक सदस्यले बताए ।

आइतबार(भोलि) बस्ने मन्त्रिपरिषद् बैठकले समितिको सिफारिसका आधारमा लकडाउन बढाउने, नबढाउने वा खुकुलो बनाउने बारे निर्णय गर्ने जनाइएको छ ।