नतिजा गलत आएपछि जनकपुरधाममा स्वाब परीक्षण स्थगित

नतिजा गलत आएपछि जनकपुरधाममा स्वाब परीक्षण स्थगित

गुणस्तरमा विश्वसनीयता नरहेको भन्दै प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोनाभाइरसको ‘पीसीआर’ विधि परीक्षण बन्द गरिएको छ ।

सर्लाहीको धनकौल गाउँपालिकाका १४ वर्षीय किशोरको ‘रिपोर्ट’ जनकपुरधामस्थित प्रयोगशालामा ‘नेगेटिभ’ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘पोजिटिभ’ आएका कारण मेसिन विश्वसनीय नरहेको भन्दै बन्द गरिएको हो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका इञ्चार्ज रामविनय साहकाअनुसार पीसीआरमा किशोरको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

‘आइसोलेसन’बाट फिर्ता गरिएपनि ‘क्वारेन्टाइन’मा रहेका किशोरको पुनः राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोनाभाइरस पोजिटिभ आएपछि जनकपुरधाममा भइरहेको परीक्षण बन्द गर्ने निर्णय गरेको इञ्चार्ज साहले जानकारी दिए ।

गएको चैत २१ गतेबाट प्रादेशिक अस्पतालमा पीसीआर (स्वाब) टेस्ट सुरु भएको थियो ।

हालसम्म १०० भन्दा बढी परीक्षण भएकोमा सबै नेगेटिभ नै आएको भन्दै सर्लाहीका किशोरको घटनाले मेसिनमाथि आशंका भएकाले स्थगित गरिएको उनले जानकारी दिए ।

टेस्टको नतिजा गलत आएपछि बसेको प्राविधिकहरुको बैठकले सो मेसिनमा परीक्षण गर्न उपयुक्त नहुने भन्दै शुक्रबारदेखि परीक्षण रोक्ने निर्णय गरिएको बताइएको छ ।