राँगाको सुकुटी खायर फेसबुकमा जरायो भन्दै पोस्ट गरेपछि

राँगाको सुकुटी खायर फेसबुकमा जरायो भन्दै पोस्ट गरेपछि

जिस्केर राँगाको सुकुटीलाई जरायोको भन्दै आफ्नो घरमा खाना खान निम्ता गर्ने एक युवक पक्राउ परेका छन्।

गढवा गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय शिवराज पुन मगरले बिहीबार दिउँसो ३ बजेतिर आफ्नो फेसबुक वालमार्फत जरायोको सुकुटी खान निम्ता गरेका थिए।

मगरले लेखेका थिए – ‘लकडाउनको टाइमपास, आजको नास्ता जरायोको सुकुटी…मेरो घरमा स्वागत छ।’

पुनले सामाजिक सञ्जालमा प्रतिवन्धित बन्यजन्तु जरायोको सुकुटी खान सार्वजनिक रुपमा आह्वान गरेपछि डिभिजन कार्यालय देउखुरीका पदाधिकारीहरुले मगरलाई पछ्याए।

अनुसन्धान गर्दै वनको टोली शुक्रबार विहान साढे दश बजेतिर पुनको घरमा पुग्यो र उनलाई नियन्त्रणमा लियो।

कुनै गल्ती नगरी एक्कासी सुरक्षाकर्मीसहितको टोली आएर आफूलाई नियन्त्रणमा लिएको घटनाले मगर आश्चर्यमा परे। उनका घरका परिवारका सदस्य पनि अक्क न बक्क भए।

वन कार्यालयमा लगेर मगरमाथि सोधपुछ र अनुसन्धान सुरु भयो। त्यसक्रममा मगरले रमाइलोको लागि आफूले त्यो सबै गरेको बयान दिए। डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी प्रेमीलाल प्रसाद साहका अनुसार मगरले त्यो तस्वीर आफ्नी पत्नीलाई खिच्न लगाएका रहेछन्।

‘लकडाउनले घरमा सबै दुःखी छन्, मैले राँगाको सुकुटी पकाउँदै थिए,’ मगरले भने ‘घर परिवार लगायत सबैलाई रमाइलो गराउँ भन्ने उद्देश्यले जरायोको सुकुटी खान आउनुस् भन्ने कुरा जिस्केरे लेखेको हुँ।’

जति पटक सोध्दा पनि मगरले त्यही कुरा दोहाेर्‍याए। मगरले भने ‘मैले रमाइलोको लागि सामाजिक सञ्जालमा त्यो स्ट्याटस लेखेको थिए, यस्तो अवस्था ब्यहोर्नुपर्ला भन्ने मैले सोचेकै थिइनँ।’

उनले गल्ती स्वीकार गर्दै आइन्दा यस्ता कुराहरु रमाइलोको लागि सामाजिक सञ्जालमा नलेख्ने प्रतिवद्धता समेत जाहेर गरेपछि उनलाई रिहा गरिएको सहायक वन अधिकृत समेत रहेका साहले जानकारी दिए।

मगरलाई गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको जिम्मा लगाएर दिउँसो दुई बजेतिर छोडिएको सूचना अधिकारी साहले जानकारी दिए।

‘मगरलाई हामीले अध्यक्षज्यूको जिम्मा लगाएर छोडे पनि अनुसन्धान भने जारी नै रहने छ,’ सूचना अधिकारी साहले भने ‘त्यो मासु साँच्चै राँगाको थियो वा जरायोको थियो भन्ने बारेमा हामी थप अनुसन्धान गर्ने छौं।’

मगरले स्ट्याटस लेखे जस्तै जरायोको मासु भएको पुष्टि भएमा कानुनी कारवाही अगाडि बढ्ने साहले जानकारी दिए।

वन कार्यालयवाट रिहा भए लगतै पुन मगरले उक्त स्ट्याटस भने हटाई सकेका छन्।