लकडाउनको टाइमा पास, आजको नास्ता जरायोको सुकुटी, भन्ने व्यक्ति पक्राउ

लकडाउनको टाइमा पास, आजको नास्ता जरायोको सुकुटी, भन्ने व्यक्ति पक्राउ

लकडाउनका बेला फेसबूकमार्फत लोपोन्मुख वन्यजन्तु जरायोको मासु खान निम्ता दिने १ जनालाई वन कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ का ३५ वर्षीय शिवराज पुन छन् ।

उनलाई डिभिजन वन कार्यालय देउखुरीको टोलीले पक्राउ गरेको हो । पुनले आफ्नो फेसबूकमा भान्सामा खानेकुरा बनाउँदै गरेको फोटो राख्दै ‘जरायोको मासु खान निम्तो’ दिएका थिए ।

उनले आफ्नो फेसबूकमा लेखेका थिए– लकडाउनको टाइमा पास, आजको नास्ता जरायोको सुकुटी । मेरो घरमा स्वागत छ ।
पुनले स्टाटस लेखेको विषयमा आफूहरुमा सूचना पुगेपछि उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

पक्राउ परेका पुनविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाइएको बिडारीले जानकारी दिए ।