टेष्ट च्याम्पियनसिप स्थगित गर्न सुझाव

टेष्ट च्याम्पियनसिप स्थगित गर्न सुझाव

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले विश्व टेष्ट च्याम्पियनसिप स्थगित गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई सुझाव दिएको छ ।

आईसीसीले बिहिबार बोलाएको प्रमुख कार्यकारी समितिको बैठकमा बीसीसीआईले कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै टेष्ट च्याम्पियनसिप स्थगित गर्न सुझाव दिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण क्रिकेटको तालिका अस्तव्यस्त बनेको कारण टेष्ट च्याम्पियनसिप स्थगित गर्न बीसीसीआईले सुझाव दिएको हो ।

टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया दोस्रो, न्युजिल्याण्ड तेश्रो, इंग्ल्यान्ड चौंथो र पाकिस्तान पाँचौं स्थानमा रहेका छन् ।

बिहिवार बसेको आईसीसीको बैठकले महत्वपूर्ण निर्णय भने गरेको छैन । तर, कोरोनाले रोकिनु अघि जारी टेष्ट च्याम्पियनसिप, यसै वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकपबारे भने छलफल भएको आईसीसीले जनाएको छ

भिडियो कलको माध्यमबाट बसेको बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहेको थियो ।

बैठकले कोरोनाले अवरुद्ध क्रिकेटमा अब आउने चुनौतीको सामना गर्न एकजुट भएर लाग्ने निर्णय गरेको छ । यस्तै सहभागी राष्ट्रले कोरोनाको प्रभावबारे जानकारी गराएका थिए ।

कोरोनाको कारण आईसीसीले आगामी जुलाईसम्मको अन्तर्राष्ट्रिय क्रिकेट स्थगित गरिसकेको छ ।