रामेछापमा बस दुर्घटना : २८ जना घाइते

रामेछापमा बस दुर्घटना : २८ जना घाइते

रामेछापको मन्थली नगरपालिकामा पर्ने कुनाउरीमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट यात्रु लिएर दोलखाको मालुखोला जान लागेको पूर्व अरनिको यातायात समितिको बा २ ख ६८१८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अस्पतालका चिकित्सक डा. केशवसिं धामीका अनुसार गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। अरु घाइते सामान्य अवस्थामा छन्।

लकडाउनमा काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय सरकारले बसको व्यवस्था गरी धमाधम गाउँ फर्काउन थालेका बेला उक्त दुर्घटना भएको हो। गए राति पनि दर्जनौं बसहरु यात्रु लिएर रामेछाप भित्रिएका छन्।