‘लकडाउन’ हटाउन हतार नगरौँ- विश्व स्वास्थ्य सङ्गठन

‘लकडाउन’ हटाउन हतार नगरौँ- विश्व स्वास्थ्य सङ्गठन

 विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन लगाइएको प्रतिबन्ध र लकडाउन एकैपटक नभइ बिस्तारै हटाउँदै जानुपर्ने बताएको छ ।

विश्वका विभिन्न देशहरु आफूखुसी लकडाउन हटाउने निष्क्र्शमा पुगेको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिँदै चरणगत रुपमा लकडाउन हटाउन सुझाव दिएको हो । कतिपय देशले त आंशिक रुपमा प्रतिबन्ध हटाइसकेका छन् ।

मङ्गलबार विश्व स्वास्थ्य सङ्गठनले हतार र सही समयअघि नै लकडाउन हटाइए कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भन्दै सचेत गराएको हो ।

सङ्गठनका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले भने, ‘जबसम्म कुनै खोप बन्दैन या कुनै उपचारको पहिचान हुँदैन, लकडाउन हाम्रो लागि ‘न्यु नर्मल’ हुनुपर्छ किनकि यसबाट फाइदा भएको प्रमाण पनि भेटिएको छ ।’ ‘जो कुनै सरकार लकडाउन हटाउन चाहन्छ भने बिस्तारै चरणगत रुपमा हटाउँदै स्थितिलाई पनि ध्यान दिनुपर्छ’, उनले भने । जापान र सिङ्गापुर जस्ता देशका कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणको अवस्था देखिएको छ ।