नेपालमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित भेटिएनन्, १११ जना ‘आइसोलेसन’मा

नेपालमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित भेटिएनन्, १११ जना ‘आइसोलेसन’मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा गरिएको कोरोना परीक्षणमा नयाँ संक्रमित नभेटिएको जनाएको छ ।

मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मुलुकभरि पछिल्लो २४ घन्टामा ‘पीसीआर’ प्रविधिबाट ३२४ र ‘आरडीटी’मार्फत् २१ सय ६८ जनामा कोरोना परीक्षण गर्दा नयाँ ‘पोजिटिभ केस’ नदेखिएको जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाकाअनुसार हालसम्म देशभर आठ हजार ४१४ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ ।

हालसम्म पीसीआर र आरडीटी दुवै प्रविधिबाट देशभर ३३ हजार ५६२ ओटा परीक्षण भएका प्रवक्ता देवकोटाले जानकारी दिए ।

उनले देशभर पाँच हजार ९३६ जना ‘क्वारेन्टाइन’मा रहेको र १११ जना ‘आइसोलेसन’मा रहेको जानकारी दिए ।

नेपालमा हालसम्म ३१ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएकोमा चारजना निको भएर घर फर्किसकेका छन् । बाँकी २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।