दाङमा पत्नीले हानेको चिर्पटले पतिको ज्यान गयो

दाङमा पत्नीले हानेको चिर्पटले पतिको ज्यान गयो

दाङमा पत्नीले हानेको चिर्पट लागेर घाइते भएका पतिको उपचारको क्रममा मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका वडा नं. ५ साकिनेमा पत्नी निशा अधिकारीले हानेको चिर्पट प्रहारबाट घाइते गुमानबहादुर अधिकारीको मृत्यु भएको हो।

प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं. २ रातोपानी निवासी ४० वर्षीय गुमान एक हप्ता अगाडिमात्रै भारतबाट घर फर्किएका थिए।

उनकी ३५ वर्षीया पत्नी निशा दाङस्थित माइतीमा बस्दै आएको हुँदा गुमान पनि त्यहीँ गएका थिए।

वैशाख ४ गते दिउँसो गुमान मदिरा सेवन गरी घर आएपछि निशाले पतिमाथि टाउकोमा चिर्पटले प्रहार गरेकी थिइन्।

घाइते गुमानको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएकोमा उनको उपचारका क्रममा निधन भएको हो। पत्नी निशालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।