कोरोना भाइरस: ६ लाख सङ्क्रमित निको भए

कोरोना भाइरस: ६ लाख सङ्क्रमित निको भए

विश्वका विभिन्न देशमा गरी ६ लाख कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख कोरोना सङ्क्रमित निको भएका छन् ।

१५ लाख ७१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५५ हजारभन्दा धेरैको अवस्था गम्भीर रहेको र बाँकी १५ लाख १६ हजारको अवस्था सामान्य अवस्थामा रहेको वल्डोमिटरले जनाएको छ ।

सङ्क्रमणका कारण अहिलेसम्म एक लाख ६० हजारभन्दा धेरैको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै ३९ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा सात लाख ३८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै र बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै भारतमा पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ भने १६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।