भारतको एक अस्पतालमा ८ स्वास्थ्यकर्मी कोरोनाभाइरस संक्रमित

भारतको एक अस्पतालमा ८ स्वास्थ्यकर्मी कोरोनाभाइरस संक्रमित

भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ ।

नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका हुन् ।

अग्रपंक्तिमा रहेर काम गर्ने आठ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट प्रभावित भएको अस्पतालले आइतबार पुष्टि गरेको छ ।

उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुले को को सँग सम्पर्क गरेका थिए भन्ने बारेमा विवरण संकलन भइरहेको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछिको योजनाका बारेमा छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ ।

यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु एक करोड दिइने उनले शनिबार घोषणा गरे ।