बुटवलमा मृत्यु भएका व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ

बुटवलमा मृत्यु भएका व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ

बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्काे रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ

पाल्पा घर भइ रुपेन्देहीको सैनामैना नगरपालिका बस्दै आएका ३४ वर्षीय बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।

कोरोना संक्रमण भए नभएकोबारे परीक्षण गर्न केही दिन अगाडि नै उनको नमूना संकलन गरिएको भए पनि नतिना भने आएको थिएन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार नै उनको नमूनाको परीक्षण गरेको थियो । नमूना परीक्षणको क्रममा नतिजा नेगेटिभ आएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

थापा चैत ६ गते संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईबाट नेपाल आएका थिए । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनी चैत १३ गते अस्पताल भर्ना भएका थिए ।