अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म नहुने

अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म नहुने

काठमाडौं : अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म नहुने भएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव रामनारायण बिडारीले जानकारी दिए ।  

यसअघि सरकारले गरेको निर्णय कार्यान्वन गर्दै बैठकले अन्तर्राष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको हो।  

बैठकमा समिति संयोजक उपप्रधान तथा रक्षामन्त्री पोखरेल, विभागीय मन्त्री, सचिव, सुरक्षा निकायका उच्च अधिकारी र सरोकारवालाको उपस्थिति थियो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकमा कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको प्रयासबाट नागरिकलाई परेको प्रभावबारे विभिन्न कोणबाट छलफलसमेत भएको छ।  

यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय सुनाएका थिए । । ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका थिए । सरकारले चैत ११ गते भने ‘लकडाउन’को निर्णय गरेको थियो ।