बलात्कार मुद्दा हाल्ने किशोरीलाई साढे ३ वर्ष जेल सजाय, पुरुषले पाए सफाइ

बलात्कार मुद्दा हाल्ने किशोरीलाई साढे ३ वर्ष जेल सजाय, पुरुषले पाए सफाइ

सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ ।

अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो ।

ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन् । गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन् ।

बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी ती किशोरीको थियो । एकै कोठामा अलग अलग सुते पनि राति आफूलाई जवरजस्ती करणी गरेको जिकिर उनको थियो ।

तर जिल्ला सरकारी वकिलसँगको बयानमा ती पुरुषले जवरजस्ती करणी नगरेको बताएका थिए । बरु किशोरीसँगकै सहमतिमा यौनसम्बन्ध स्थापित गरेको बयान न्यायाधीवक्तासमक्ष दिएका थिए ।

आफन्तको निधन भएकाले तत्कालै बिहे गर्न सम्भव नभएको बताएर गएका ती पुरुषमाथि किशोरीले बलात्कार मुद्दा हालेकी थिइन् । किशोरीले जिल्ला न्यायाधीवक्तसँगको बयानमा ती पुरुषले बिहे नगर्ने बुझेपछि बलात्कार मुद्दा चलाएको बताएकी थिइन् ।
अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ । यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ । Source : yoho tv