ओमानलाई ९ विकेटले हराएर ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो

ओमानलाई ९ विकेटले हराएर ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो

नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ ।

अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।

सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।

ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो ।

भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै आरिफ शेखले अविजित २१ रन जोडे ।

पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ७.३ ओभरमा ५० रनको साझेदारी गरेका थिए । आसिफ शेख १३ रन बनाएर आउट भए ।

यस प्रतियोगितामा विकेटकिपिङको समेत जिम्मेवारी पाएका आरिफको ब्याटबाट सोचे अनुसारको रन भने निस्कन सकेको छैन ।

त्यसपछि भुर्तेल र आरिफ शेखले मिलेर नेपाललाई जितसम्म पुर्‍याए । यी दुईले दोस्रो विकेटका लागि अविजित ४० रनको साझेदारी गरे ।

ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् ।

उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् । यस्तै पूर्वकप्तान पारस खड्काले टी-२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछि ८७ रनमै रोकिएको थियो ।

नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।

कप्तान जिसन मक्सुद (२१) र आयान खान (१६), नसिम खुसी (१५) र कलिमुल्लाह (१४) ले मात्र दोहोरो अंकको रन छुन सके ।

दोस्रो ओभरमै ओपनर जतिन्दर सिंह रनआउट भएपछि नेपालले पहिलो सफलता पाएको थियो । अर्को ओभरमा कमलसिंह ऐरीले सोएव खानलाई कप्तान सन्दीप लामिछानेबाट क्याच आउट गरे । पाँचौं ओभरमा ओमानका अर्का ओपनर कश्यप प्रजापतीलाई ५ रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि पावर प्ले मा १९–३ को कमजोर स्थितिमा थियो ।

त्यसयता नेपाली स्पिनरहरू कप्तान लामिछाने, आरिफ शेख र सागर ढकालले विकेट लिइरहे । लामिछानेले सर्वाधिक ३ विकेट लिए ।

उनले चार ओभरमा १३ रन खर्चिए । आरिफ शेख, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

यो प्रतियोगितामा पहिलो खेल खेलेका सागरले ३ ओभरमा १९ रन खर्चिए