टी–२० विश्व कपमा पुग्न असफल नेपाल र ओमानले आज तेस्रो स्थानका लागि खेल्दै

टी–२० विश्व कपमा पुग्न असफल नेपाल र ओमानले आज तेस्रो स्थानका लागि खेल्दै

टी–२० विश्व कपमा पुग्न असफल नेपालले आज तेस्रो स्थानका लागि खेल्दैछ।

टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमान खेल्न लागेका हुन् । खेल ओमानको घरेलु मैदान अलअमिरातमा दिउँसो पौने चार बजे सुरु हुनेछ ।

नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

यसैवर्ष अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट भएका यूएई र आयरल्यान्डले आज ग्लोबल छनोटको उपाधिका लागि खेल्दैछन् ।

यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले आईसीसीको टी–२० विश्व वरीयतामा ठूलाे फड्काे मारेका छन् । कुशल भुर्तेल ६५औँ स्थानबाट ३९औँ स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ कप्तान सन्दीप ६३औँ स्थानबाट ४३औँ स्थानमा उक्लिएका छन् । सन्दीपले दक्षिण अफ्रिका कागिसो रबाडा र अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलगायतलाई टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पछि पारेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय वरीयतामा भने दुई स्थान तल झरेको नेपाल १५औँ स्थानमा छ ।