चितवनमा भोलिदेखि कोरोनाविरुद्ध भेरोसेल खोपको दोस्रो डोज

चितवनमा भोलिदेखि कोरोनाविरुद्ध भेरोसेल खोपको दोस्रो डोज

चितवनमा भोलि (मंगलबार) देखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिइने भएको छ । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई भोलि भाद्र १ गते मंगलबारदेखि ३ गते बिहीबारसम्म दोस्रो डोज दिइने भएको हो ।

गत साउन ११ देखि १४ गतेसम्म जिल्लाका सातै स्थानीय तहबाट पहिलो डोज लगाएकाहरुलाई भाद्र १ गतेदेखि ३ गतेसम्म दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । साउन ११ देखि १४ गतेसम्म २५ हजार ६६० जनाले भेरोसेलको पहिलो डोजको खोप लगाएका थिए ।

आवश्यकताका आधारमा एक दिन थप गर्न सकिने स्वास्थ्य कार्यालय चितवनकी तथ्याङ्क अधिकृत गीताञ्जली ढकालले बताईन् । पहिलो डोजको खोप लगाएकै केन्द्रबाट दोस्रो डोजको खोप पनि लगाउन सकिने ढकालले जानकारी दिईन् । पहिलो डोज लगाएको २१ दिन पुगेकाहरुले दोस्रो डोज लगाउन सक्नेछन् ।

खोप लगाउन कोपकेन्द्रमा जाँदा पहिलो मात्रा लगाउदाको कार्ड र परिचयपत्र अनिवार्य लैजानुपर्ने उनले बताईन् । खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।