काठमाण्डौ उपत्यकामा भोलिदेखि ठूला सार्वजनिक बस चल्ने

काठमाण्डौ उपत्यकामा भोलिदेखि ठूला सार्वजनिक बस चल्ने

काठमाण्डौ उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् । यस्तै उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ । कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।

के-के खुल्ने र के बन्द हुने सम्बन्धमा मापदण्डहरु तयार गरेर जिल्ला प्रशासन कार्यालयहरुले आदेश जारी गर्नेछन् । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

उज्यालोमा खबर छ