इन्द्रावतीले बगायो मेलम्चीमा तीन तले घर, तटीय क्षेत्रमा आज बाढीको उच्च जोखिम

इन्द्रावतीले बगायो मेलम्चीमा तीन तले घर, तटीय क्षेत्रमा आज बाढीको उच्च जोखिम

इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा एउटा तीन तले घर बगाएको छ ।

भारी वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको सो घर वर्षा र कटानले बगाएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले स्थानीय गोपाल दुलालको तीन तले घर बगाएको प्रहरीले जनाएको छ ।

आज यी क्षेत्रमा बाढीको उच्च जोखिम

देशभर वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कन्काई, कोशी, कमला, वाग्मती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा पनि पानीको बहाव सामान्य बढ्ने छ ।

महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश २ का बारा‚ धनुषा‚ सिरहा र सप्तरीमा रहेका नदी तथा खोला आसपासका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ ।

यस्तै वाग्मती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ रामेछाप‚ नुवाकोट‚ दोलखा‚ धादिङ‚ चितवन‚ मकवानपुर‚ काठमाडौं र सिन्धुलीका नदी तथा खोलाको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।