समूह डी : डु अर डाईको अवस्थामा क्रोयशिया

समूह डी : डु अर डाईको अवस्थामा क्रोयशिया

२०१८ को विश्वकप फुटबलको फाइनलसम्म पुगेको क्रोयशियाले आज स्कटल्यान्डलाई उसैको घरेलु मैदानमा हराउँछ, वा पहिलो चरणमै घर फर्कन्छ ? यो प्रश्नको जवाफ मध्यराति मिल्नेछ । युरो कपअन्तर्गत समूह डी को खेलमा मध्यराति १२ : ४५ बजे लण्डनको बिम्बलीमा इङ्ल्यान्ड र चेक गणतन्त्र तथा ग्लासगोस्थित ह्याम्पडेन पार्कमा स्कटल्याण्ड र क्रोयशियाबीच प्रतिस्पर्धा हुँदैछ ।

यस समूहमा चार अंक र राम्रो गोल अन्तरका आधारमा चेक गणतन्त्र पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको इङल्यान्डको पनि समान चार अंक नै छ । ४ अंक बटुलेका दुबै टोली अन्तिम १६ मा छानिने तय भइसकेको छ । त्यसैले यस खेलले समूह विजेताको टुंगो लगाउनेछ । पराजित हुने टोलीले दोस्रो वा तेस्रो भएर अन्तिम १६ को यात्रा गर्नेछ ।

यही समय, अर्को खेलमा क्रोयशिया र स्कटल्याण्ड भिड्दैछन्, यस खेलमा विजयी हुने टोलीले पनि अन्तिम १६ मा छनोट हुन पाउनेछ । यसअघि इङ्ग्ल्यान्डसँग पराजित भएको क्रोयशियाले चेक गणतन्त्रसँग बराबरी खेलेको थियो ।

त्यस्तै, चेक गणतन्त्रसँग पराजित भएको स्कटल्यान्डले इङ्ग्ल्यान्डसँग बराबरी खेलेको थियो । समूहमा अहिले दुबै टोलीको समान १–१ अंक छ । त्यहीकारण, दोस्रो चरण पुग्न यी दुबै टोली सामु जितबाहेक अर्को बाटो छैन । खेल बराबरीमा सकिएमा दुबै टोली पहिलो चरणबाटै घर फर्कनेछन् ।