फेसबुकले सुरु गर्यो क्लबहाउस जस्तै लाइभ अडियो रुम र पोड्कास्ट

फेसबुकले सुरु गर्यो क्लबहाउस जस्तै लाइभ अडियो रुम र पोड्कास्ट

फेसबुकले हालै चर्चामा आएको नयाँ एप ‘क्लबहाउस’ जस्तै लाइभ अडियो रुम र पोडकास्ट सुरु गरेको छ।


सोमबार फेसबुकले आफ्नो प्लेटफर्ममा क्लबहाउस शैलीका लाइभ अडियो र पोडकास्टको नयाँ फिचर सार्वजनिक गरेको रोयटर्सले बताएको छ।

गत अप्रिलमा फेसबुकले नयाँ अडियो उत्पादनमा लगानी गर्ने घोषणा गरेको थियो र यसैको दुई महिनामा कम्पनीले प्लेटफर्ममा सो नयाँ सुविधा थपेको हो।

कम्पनीका सिइओ मार्क जुकरबर्ग केही समयअघि आफैँ क्लबहाउसमा देखिएपछि यो एप प्रयोगकर्ताबिच एकाएक चर्चित भएको थियो। मार्कले अडियो रुम र पोडकास्टको आइडिया लिनको लागि क्लबहाउस चलाएको हल्ला छ।


फेसबुकको लाइभ अडियो रुम र पोडकास्ट फिचर अहिले अमेरिकाको आइओएस सफ्टवेयरमा मात्र उपलब्ध गराइएको छ। एन्ड्रोइड प्रयोगकर्ताको फेसबुकमा यो फिचर देखिदैन।

अमेरिकामा पनि केबल सिमित सेलिब्रेटी र फेसबुक समुहले यो फिचर चलाउन पाउने छन्। जसमा उनीहरुले सिर्जना गर्ने लाइभ अडियो रुममा पचास जना वक्ताहरु र श्रोताहरु बस्न पाउने कम्पनीले उल्लेख गरेको छ।

यसैगरी अमेरिकी श्रोताहरुलाई फेसबुकमा पोडकास्ट पनि उपलब्ध हुने रोयटर्सले जनाएको छ।

प्लेटफर्ममा रहेका केही कन्टेन्टका कारण आलोचनामा पर्दै गरेको फेसबुकले लाइभ र रेकर्ड गरिएको अडियो सामाग्री मोडरेट गर्दा चुनौतीहरु सामना गर्नुपर्ने रिर्पोटले अनुमान गरेको छ।


यो नयाँ अडियो फिचरसँगै फेसुबकले ‘स्पोटिफाइ’ एपको सहकार्यमा आफ्नो प्लेटफर्ममा गीतहरु सुन्न र सेयर गर्न मिल्ने फिचरमा काम गरिरहेको छ।