हिलोमा फसेको ट्रक निकाल्ने प्रयास गर्दागर्दै पहिराले पुरियो

हिलोमा फसेको ट्रक निकाल्ने प्रयास गर्दागर्दै पहिराले पुरियो

जोमसोम सडकअन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा हिजो दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ ।

मुस्ताङको जोमसोममा सामान पुर्‍याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्रकका निकाल्ने प्रयास गर्दागर्दै माथिबाट खसेको पहिरोले पुरिएको थियो । चालक र सहचालक सकुशल छन् ।

सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत्विक्षत् भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको छ ।

केहीदिन अघि अन्नपूर्ण गाउँपालिका-३ म्याग्दीको रुप्से झरनामा दुई दिनसम्म एउटा स्कार्पियो जीप फसेको थियो । पहिरोमा फसेको जिप तेस्रो दिनमा कालीगण्डकीमा खसेर बगाएको थियो ।

भुरुङ-तातोपानीको नागढुङ्गामा कालीगण्डकीले सडक र तटबन्ध बगाएपछि अवरुद्ध छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको चमेरेमा शनिबार राति खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।-