बौद्धको टाउन प्लानिङमा भेटियो बोराभित्र कटिएको खुट्टा

बौद्धको टाउन प्लानिङमा भेटियो बोराभित्र कटिएको खुट्टा

बौद्धको टाउन प्लानिङमा बोराभित्र कटिएको एउटा खुट्टा फेला परेको छ । सुरुमा शव फेला परेको भनिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो ।

घटनास्थलमा काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पुगेका थिए । फरेन्सिक डाक्टरले कुनै व्यक्तिको शरीरबाट दुई(तीन हप्ता अगाडि नै खुट्टा अलग गरिएको हुनसक्ने बताएको एसएसपी सिंहले बताउनुभयो ।

घटना अन्तै गराएर खुट्टा बौद्धमा व्यवस्थापन गरिएको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले कोही मानिस हराएको सूचनाको अध्ययन गरी घटनाको अनुसन्धान प्रक्रिया थालेको एसएसपी सिंहले बताउनुभयो । खुट्टा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।