माडीको देबेन्द्रपुरमा खानेपानीको हाहाकार

माडीको देबेन्द्रपुरमा खानेपानीको हाहाकार

चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर माथिल्लो लाइन, (शनि मन्दिर टोल) बिगत लामो समयदेखि खानेपानी सेवामा पछाडि परेको छ । स्थानीयबासीहरु पिउने खानेपानीको अभावमा झन्डै आधा कि.मि पैदल हिडेर डोकामा गाग्री राखेर पानी ल्याउनु परेको स्थानीय महिलाहरुको भनाइ छ । यसैगरी यस क्षेत्रमा बस्ती निर्माण भएदेखि नै यस्तो खालको समस्या भोग्नुपरेको अर्का स्थानीय एबम पण्डित सुदर्शन सुबेदीले बताए । उनका अनुसार, यस क्षेत्रमा बि.सं ०५६/०५७ सालमा जिल्ला खानेपानी आयोजनाले धोकेखोला खानेपानी आयोजना भनेर बिस्तार गर्‍यो । केहि खानेपानीका धाराहरु निर्माण भएको र केहि धारा संरक्षणको अभावमा जिर्ण भएको बताए । उनी भन्छन् धारामा पानी आउँछ, तर आकाशबाट केहिदिन पानी परेपछि पहिरोसंगै पानीको पाइप बगाएर लैजान्छ । यस्तो हुनुमा पहिरो जाने संभावना रहेका ठाउँहरु जस्तै डाँडा पाखाहरुमा मेस जाली राखेर संरक्षण गर्न नसक्नाले यस्तो परिणाम भोग्नुपरेको दुखेसो गरे । अहिले यस क्षेत्रमा कुसुमखोला खानेपानी आयोजना भनेर सुरुवात गरिएको छ । खानेपानी बिस्तारको लागि माथी ट्यांकी निर्माण गर्ने भनिएतापनि ट्यांकी निर्माण नहुँदा पानी बितरण हुन नसकेको बताए । बिगतमा निर्माण गरिएका धाराहरुमा  एक धारा बराबर झन्डै १२ घरले प्रयोग गर्नुपरेको र लाइनमा बसेर पानी भर्नुपर्दा एकदम पिडा भएको स्थानीय मन्जु गौडेलले बताइन् । चुनावका बेलामा ठुलठुला आकाशका तारा झार्ने गफ गर्ने नेताहरु हामीलाई समस्या पर्दा, वास्ता नगर्ने प्रवृत्तिले गर्दा वाक्क लागेको स्थानीय बताउछन् । यसैगरी   भौगोलिक केहि अबस्थितिका कारण यस क्षेत्र उचो रहेका कारणले पनि ईनार खन्न समस्या छ । अहिले त्यहाँ झन्डै २०० घरधुरी खानेपानीको अभावमा छन ।
समाचार सम्पादन : पत्रकार अजित अधिकारी