नि:शुल्क खानासहित आइसोलेशनको व्यवस्था छ, जोखिम मोलेर घरमा नबस्नु – ललितपुर महानगरपालिका

नि:शुल्क खानासहित आइसोलेशनको व्यवस्था छ, जोखिम मोलेर घरमा नबस्नु – ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले कोरोना सङ्क्रमितहरु घरकै आइसोलेशनमा बस्दा जोखिम हुन सक्ने भन्दै नगरपालिकाले व्यवस्था गरेको आइसोलेशनमा बस्न आग्रह गरेको छ ।

मेयर चिरिबाबु महर्जनले प्रेस विज्ञप्ति निकालेर घरको आइसोलेशनमा बस्दा स्वयम् सङ्क्रमित, परिवार र समुदायलाई जोखिम हुने भएकाले वडा तथा नगरपालिकामा सम्पर्क गरी नगरपालिकाको आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गर्न आग्रह गर्नुभएको छ । घरमा शौचालय, कोठा, स्वास्थ्यकर्मीको निगरानीलगायत आवश्यक व्यवस्थापन भएमा मात्रै घरमा बस्न अन्यथा जोखिम नमोल्न उहाँको आग्रह छ ।

महानगरपालिकाले वडा नम्बर ६ सुनाकोठीमा ५० शय्या र वडा नम्बर ४ बागडोलमा एक सय १० शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको छ । आइसोलेशनमा अक्सिजनसहित स्वास्थ्यकर्मीको निगरानी र पोषणविद्को सल्लाहअनुसारको खाना, खाजा नि:शुल्क उपलब्ध गराउने पनि महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आवश्यकता अनुसार आइसोलेशन तथा उपचारको व्यवस्था गरेको जानकारी दिँदै स्वास्थ्यका मापदण्ड पालना गरेर सकेसम्म सङ्क्रमण हुन नदिन पहल गर्न सबैलाई आग्रह गरेको छ।