आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेरपनि बाँधखोला ओझेलमा

आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेरपनि बाँधखोला ओझेलमा

मनोज घिमिरे

नारायणघाटदेखि साईकल वा पैदल छोटो समयमा पुग्न सकिन्छ नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं ८ मा रहेको रमणीय स्थल बाँधखोला । सो ठाउँ गैंडाकोटको विजय चोकदेखि करिब १५०० मिटर उत्तरतर्फ करङघारी नजिकैको जंगलको फेदमा अवस्थित छ, जयश्री खोलाको बाँध ।

सोही वडाका वडा अध्यक्ष डिला राम रिजालका अनुसार वि.स. २०३६ सालमा बाँध बाँधिएपछि उक्त स्थलको नाम बाँध खोला भनेर चिनिएको हो । बर्षायाममा खोलाको वहाव ठुलो हुने हुँदा त्यहाँ बाँधिएको बाँध भएर खोला झर्दा निकै सुन्दर झरना निस्कन्छ ।

रिजालका अनुसार झरनामा नुहाउन र झरनाको दृश्यावलोकनका लागि नजिकैका स्थानीय पुगेपनि अन्य जिल्लाका मानिसहरूलाइ त्यहाँको सुन्दरताको बारेमा जानकारी छैन ।

आँखै अगाडि जंगलको हरियाली, खोलाको चिसो पानी र त्यहाँबाट निस्कने झरनाको मनमोहक दृश्य देखेपछि जोसुकैलाई एकैछिन भएपनि शहरको कोलाहलबाट टाढा शान्त ठाउँमा पुगेको आभाष गराउँछ, बाँध खोलाले ।

खोलावारी गैडाकोट ८ र पारी वडा न ३ लाई जोड्न पुल र एउटा उद्यान निर्माण गर्ने वडाको योजनाका बारेमा पनि अध्यक्ष रिजालले जानकारी गराए ।

योजना अनुसार नै अगाडि बढे र सरसफाइमा ध्यान दिन सके बाँध खोला एउटा सुन्दर पर्यटकीय स्थल हुने निश्चित छ । खाँचो छ त केवल प्रचार प्रसारको।