चितवनका १६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका १६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका १६ जनासहित २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका १६, बाराका १, बैतडीका १, तनहुँका २ र रौतहटका एक जनामा कोरोना भारस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवन बाहिरका संक्रमित तनहुँ बाहेकका सबै चितवनकै विभिन्न अस्पतालमा उपचाररत छन् । चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटलबाट गरिएको स्वाब परीक्षणमा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरु भरतपुर वडा नं. १, ३, ४, ८, १० र ११ नम्बर वडाका ६ वर्षीय बालकदेखि ५० वर्ष उमेर समूहका छन् । यस्तै राप्ती नगरपालिका–६ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका २२ देखि ३० वर्ष उमेरका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै जिल्लाको एक मात्रै शून्य संक्रमित रहेको इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना–५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत सिमरा–९ बाराका ४५ वर्षीय पुरुष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका दिलासैनी–३ बैतडीका ४० वर्षीय पुरुष र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी रौतहटकी ८ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति अबेरसम्म ३१० नमुना परीक्षण गरिएको थियो ।