प्रहरीमा कोरोना देखिएपछि चितवन ट्राफिक प्रहरी कार्यालय शिल

प्रहरीमा कोरोना देखिएपछि चितवन ट्राफिक प्रहरी कार्यालय शिल

जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरलाई केहीदिनका लागि शिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय भरतपुरमा कार्यररत दुई जना प्रहरीमा शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि ट्राफिक प्रहरी कार्यालयलाई केहिदिनका लागि शिल गरिएको ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।

संक्रमित मध्येका एक प्रहरी निरन्तर ट्राफिक प्रहरी कार्यालयमा आवात जावत गरेकाले कार्यालयलाई शिल गरिएको बताए । ‘संक्रमित एक प्रहरी स्वाब दिँदाको दिनसम्म पनि हाम्रो कार्यालयमा निरन्तरत सम्पर्कमा रहेको, यहाँका ट्राफिकसंग निरन्तर चेकजाँचमा हिडेकोले केहीदिनका लागि शिल गरेका हौं’–ट्राफिक प्रमुख भट्टले भने ।

उनले ट्राफिक कार्यालय भित्र बस्ने सबै प्रहरीको कोरोना परीक्षण पछि मात्रै निरन्तर सेवा प्रदान गरिने बताए । जिल्ला ट्राफिक कार्यालय भित्र रहेर कार्यरत सबै प्रहरीलाई बाहिर निस्कन दिइने छैन । जिल्लाका अन्य विभिन्न बिटमा खटिएका ट्राफिक प्रहरीबाट नियमित चेकजाँचलाई अघि बढाइने प्रमुख भट्टले बताए ।

शनिबार नेपाल प्रहरीका दुई, शसस्त्र प्रहरीका एक र जिल्ला प्रहरी कार्यालय भित्र रहेका एक थुनुवा गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय भित्रको थुनुवा कक्ष समेत शिल गरिएको छ ।