भारतमा कोरोना संक्रमण बढ्दो, एकै दिन थपिए ९ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना संक्रमण बढ्दो, एकै दिन थपिए ९ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण दैनिकरूपमा बढ्दो क्रममा देखिएको छ ।

कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको छ । एकै दिन अरू २८६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ६४९ पुगेको छ ।

यसअघि बिहिबार पनि भारतमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।