भरतपुरमा गरिएको परीक्षणमा थप एकलाई कोरोना पुष्टि

भरतपुरमा गरिएको परीक्षणमा थप एकलाई कोरोना पुष्टि

भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा जेठ १३ मा परीक्षण भएका १ सय ५ वटा नमुनामध्ये एक जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान सूचना जारी गरी यसबारे पुष्टि गरेको हो ।

ती व्यक्ति नवलपुरको देवचुली नगरपालिका–१ का बासिन्दा रहेको अस्पतालले जनाएको छ । उनी अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचनामा उल्लेख छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार १९ वर्षीय ती व्यक्ति जेठ १० गते भारतको हरिद्वारबाट आएर देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

योसहित चितवनमा कोरोना संक्रमण पुष्टि भएका आठ जना पुगेका छन् । जस मध्ये चितवनका पाँच जना छन् । चितवनकै दुई जना निको भएर घर फर्किसकेका छन् । उपचारमा रहेका ६ मध्ये तीन जना चितवन र बाँकी नवलपुरका हुन् ।

मकवानपुरको प्रयोगशालामा संक्रमण पुष्टि भएकी हेटौंडाकी एक महिलालाई पनि भरतपुरस्थित सरकारी अस्पतालको आइसोलेसनमा राखिएको छ । भरतपुरमै बस्दै आएकी उनी हेटौंडा घर गएका बेला त्यहीँ परीक्षण भएको थियो । चितवनमा जेठ १३ सम्म १ हजार ६ सय ३४ जनाको कोरोना परीक्षण भएको छ ।