महामारीको पीडा र राष्ट्रियताको सन्देश चित्रकलाबाट

महामारीको पीडा र राष्ट्रियताको सन्देश चित्रकलाबाट

नेपालमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न भनी लकडाउन जारी गरिएको पनि दुई महिना पूरा भएको छ । मानिसहरूले आफ्ना नियमित कामकाजलाई ठप्प पारी दुई महिनादेखि घरैभित्र समय बिताइरहेका छन् ।

संसारलाई नै आक्रान्त पारेको कोरोना भाइरस महामारीका नयाँ संक्रमित नेपालमा पनि दिनानुदिन थपिने क्रममा छन् । यस्तोमा दिमागलाई एकाग्र राख्न ज्यादै चुनौतिपूर्ण कार्य हुने गर्दछ । सबैमा मनमा “अब के हुने होला ?” भन्ने प्रश्नले डेरा जमाएको छ । यस्तो बेला न त विद्यार्थीहरूले अध्ययन गर्न पाएका छन् न त विज्ञ व्यक्तिहरूले कुनै प्रकारका चिन्तन मननमा नै समय बिताउन सकेका छन् । कतिपय भने लकडाउनको मौका पारेर जसोतसो नयाँ सृजना गर्नमा व्यस्त छन् । यसरी नै दांग जिल्ला घोराही उपमहानगरपालिका वडा नं १७ निवासी प्रियंका अधिकारीले पनि चित्रकलामा समय बिताउने गरेकी छिन् ।

यो अवधिमा उनले खास गरी कोरोना भाइरससँग सम्बन्ध राख्ने खालका विषयवस्तुमा चित्र कोरिरहेकी छिन् । चित्रले हजार शब्द बोल्ने भएकाले मनमा लागेका कुरालाई चित्रबाट नै व्यक्त गर्ने कोसिस गर्ने गरेको उनी बताउँछिन् । “सानो छँदा साथीले चित्र बनाएको देख्दा मलाई पनि चित्र बनाउन रहर जाग्यो”, उनले भनिन् । घोराही कै एक क्याम्पसमा व्यवस्थापन संकायको स्नातक चौंथो वर्षमा अध्ययनरत उनले लकडाउन सुरु भएपछि कहिले फिल्म हेरेर त कहिले चित्र बनाएर समय बिताउने गरेकी छिन् ।

यस बीचमा कोरोना भाइरस र त्यसबाट बच्ने उपायका बारेमा समेत उनले विभिन्न माध्यमबाट जानकारी लिइरेहकी छिन् । “हाम्रो जिल्लामा पनि भाइरसका संक्रमित भेटिएका छन् । सबै त्रसित छन्”, उनी अगाडी भन्छिन्, “झन् जिल्लाभित्र राम्रो सुविधायुक्त अस्पताल नै नहुँदा आइसोलेसन र क्वारेन्टिन प्रभावकारी होलान् भन्नेमा शंका छ ।” लकडाउन कै बीचमा अर्काे विषयले पनि प्रमुखता पायो । सुगौली सन्धि तथा त्यसपछि प्रकाशित विभिन्न दस्तावेजले नेपालको भनी पुष्टि गरेको लिपुलेक लिम्पियाधुरा क्षेत्रमा भारतले बाटो खनेपछि सबै नेपाली त्यसको विरोधमा उत्रिए ।

त्यसको केही दिनभित्रै नेपाल सरकारले लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर अध्यावधिक नक्सा जारी पनि ग¥यो । सामाजिक सञ्जालभरि भारतले गरेको क्रियाकलापको विरुद्धमा थुप्रै विचार समेत व्यक्त गरिए । यही विषयलाई समेटेर प्रियंकाले एउटा चित्र कोरिन् । उनले बनाउएको चित्रमा नेपालको अध्यावधिक नक्सा छ । नक्साको उत्तर पश्चिमतर्फ रहेको टुप्पोलाई भारतले अतिक्रमण गर्न खोजेको सन्देश उनले चित्रमा व्यक्त गरेकी छिन् । “प्रमाणहरू हेर्ने हो भने नेपाल बलियो स्थितिमा छ । लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो भन्ने थुप्रै तथ्य भेटिएका छन्”, उनी थप्छिन्, “भारत धेरै कुरामा हामीभन्दा ठूलो छ, त्यसैले ऊसँग लडेर साध्य हुँदैन । बरु दुवैतर्फका सरकारहरू बसेर छलफल गरेर समस्याको समाधान गरिनुपर्छ ।” सामाजिक सञ्जालमा गाली गरेर कसैलाई पनि फाइदा नहुने उनको तर्क थियो ।