पारसको गाडीको ठक्करले गोरु मर्‍यो

पारसको गाडीको ठक्करले गोरु मर्‍यो

पूर्व युवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटना भएको छ ।

शुक्रबार राति करिब साढे २ बजेको समयमा पोखरा पृथ्वीचोकमा एउटा गोरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले मध्यरातमा गोरुलाई ठक्कर दिएको हो । गाडीको ठक्करपछि घटनास्थलमै गोरुको मृत्यु भएको छ । ‘गाडी भने पारस आफैंले चलाएका थिएनन्,’ एसपी कार्कीले भने ।

दुर्घटना भएको गाडीमा ३ जना सवार थिए । मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

‘आफ्नो ड्राइभर नभएर अर्कै ड्राइभर लिएर अस्पताल जाँदै रहेछन् । निजी नभई अर्कै ड्राइभरले दुर्घटना गराएको रहेछ,’ एसपी कार्कीले भने । उनलाई छात्तीमा समस्या आएपछि मध्यरातमा गण्डकी अस्पताल लैजाँदै गर्दा दुर्घटना भएकाो उनले जानकारी दिए ।

दुर्घटनापछि चालक अशोक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसपी कार्कीले भने, ‘माद पदार्थ सेवन थिएन । चालकलाई हामीले नियन्त्रणमा लिइसकेका छौं । अब आवश्यक कारबाही अघि बढाउँछौं ।’

पूर्व युवराज पारस लकडाउनको समयमा आफ्ना सहयोगीहरुसँग करिब ९ महिनादेखि पोखराको लेकसाइडमा बस्दै आएका छन् । केही दिनअघि उनले पोखराका जलारी समुदायलाई राहत वितरणसमेत गरेका थिए ।