माडी नगरपालिकाले आफै कोरोना परीक्षण गर्ने, पीसीआर कीट किन्न १० लाख विनियोजन

माडी नगरपालिकाले आफै कोरोना परीक्षण गर्ने, पीसीआर कीट किन्न १० लाख विनियोजन


जेठ ०७
,
माडी नगरपालिकाले भारत र तेस्रो मुलुकबाट आउने आफ्ना नगरवासीको कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने कीट आफैं खरीद गर्ने भएको छ ।

नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट कीट खरीदका लागि रु १० लाख विनियोजन गर्ने निर्णय गरेको छ ।माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार माडी स्थायी घर भई चार हजार २०० हाराहारी विदेशमा रहेका छन् ।

ढकालले तत्काल २५ प्रतिशत आए पनि राख्नका लागि ११ वटा क्वारेन्टिन व्यवस्था गरिसकेको बताउनुभयो । माडीका नौवटै वडामा एक–एक र थप दुईवटा क्वारेन्टिन तयार गरेको उहाँले बताउनुभयो ।

एउटा क्वारेन्टिनमा एक सय जना राख्न मिल्ने गरी व्यवस्था गरिएको छ । विदेशबाट आएकाहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर स्वाबमार्फत कोरोना भाइरसको पिसिआर परीक्षण गरी नेगेटिभ देखिएमा १७ दिनमा घर पठाउने ढकालको भनाइ छ ।


पीसीआर परीक्षणका लागि भरतपुर कोभिड–१९ प्रयोगशालासँग कुराकानी भइसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रयोगशालामा पनि किटको अभाव देखिएकाले बाहिरबाट आउनेहरुका लागि किट हामी आफैं किन्दैछौं ।” रकम नपुगे थप गरेर भए पनि किट खरीद गर्ने उहाँले बताउनुभयो । ढकालले भारतको मुम्बईबाट आएका २४ जनालाई ठोरी नाकाबाट फिर्ता गरिएकामा आज साँझसम्ममा प्रवेश गर्न दिने आश्वासन प्राप्त भएको बताउनुभयो ।

ठोरी नाकामा समस्या देखिएको भन्दै उहाँले अब भारतबाट आउनेलाई भैरहवाको बाटो हुँदै ल्याइने बताउनुभयो ।