सूचना विभागद्वारा जारी परिचयपत्र नहुदा पत्रकार सडकमै अलपत्र

सूचना विभागद्वारा जारी  परिचयपत्र नहुदा पत्रकार सडकमै अलपत्र

लकडाउन कडाइ गरिएपछि समाचार सङ्कलन गर्न निस्किएका नागरिक दैनिकका एक पत्रकार कोटेश्वरको बीच सडकमा अलपत्र परे ।

समाचार सङ्कलन गर्न जडीबुटी हुँदै काठमाडौँ जाँदै गरेका उनलाई कोटेश्वर प्रहरीले रोकेपछि आफ्नो मिडिया हाउसको परिचयपत्र देखाए। तर प्रहरीले सूचना विभागद्वारा जारी गरेको परिचयपत्र देखाउन भनेपछि उन अलमलमा परे । खबर हबमा समाचार छ

“मैले १४ वर्षदेखि पत्रकारिता गर्दैछु, आजसम्म यही कार्डले भयो, अहिले चाहिँ किन चाहियो विभागद्वारा जारी परिचयपत्र ?” पत्रकारको कुरा सुनेर प्रहरीले भने, “माथिको आदेश त्यही छ, मैले केही गर्न सक्दिनँ तपाईं फर्कनुहोस् ।”

समाचार सङ्कलनका लागि निस्किएका एक पत्रकार बीच बाटोबाटै फर्कनुपर्नेको पीडा लकडाउनमा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारले भोग्नुपर्‍यो । उपत्यकामा थप कोरोना सङ्क्रमित भेटिएपछि यसअघि जारी भएको सवारी पाससमेत खारेज गर्दै सरकारले हिजोबाट लकडाउनलाई कडाइ गरेपछि त्यसको मारमा सञ्चारकर्मी परेका हुन् ।

सूचना विभागद्वारा जारी गरिएको परिचयपत्रबाहक पत्रकारले मात्रै सवारी सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि सञ्चारगृहद्वारा जारी गरिएको परिचयपत्र बोकेर पहिला झै समाचार सङ्कलनमा निस्किएका धेरै पत्रकार कोटेश्वर, बानेश्वरदेखि न्यूरोडसम्ममा अलपत्र पर्दै फर्किएका थिए ।

राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष एवं पत्रकार पेशल आचार्य राष्ट्रियस्तरका समाचार संस्थामा कार्यरत पत्रकारलाई समाचार सङ्कलनमा रोक लगाउन नहुने बताए । उनले भने, “हिजो र आज सडकमा धेरै पत्रकारलाई सूचना विभागद्वारा जारी परिचयपत्र नभएकै कारण अवरोध पुगेको छ, मुख्य समाचार माध्यमका सञ्चारकर्मीलाई पहिला झै सञ्चारगृहका परिचयपत्रबाटै समाचार सङ्कलन गर्ने वा सञ्चारगृहको सिफारिसमा तोकिएको व्यक्तिलाई सवारी पास दिने व्यबस्था गरिनुपर्छ ।”

सूचना विभागद्वारा जारी परिचयपत्र नभएका दैनिक पत्रिकाका एक पत्रकार प्रहरीलाई भन्दै थिए, “बन्द भएका साप्ताहिक, मासिक पत्रिकाका पत्रकारचाहिँ सूचना विभागको परिचयपत्रकै आधारमा घुमेका छन्, हामी दैनिक काम गर्ने पत्रकारलाई चाहिँ रोकेको छ, यो त अन्याय भयो नि ।” विशेषगरी दैनिक पत्रिका, टेलिभिजनमा कार्यरत करार र स्ट्रिन्जर पत्रकारलाई यो नियमले समाचार सङ्कलनमा बाधा पुगेको छ ।

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा दिन नसक्ने भन्दै सम्बन्धित सञ्चारगृहले नियुक्तपत्र नदिँदा उपत्यकामा सञ्चालित दैनिक पत्रिका, टेलिभिजन र रेडियोमा कार्यरत धेरै पत्रकारले मात्रै होइन सम्पादक तहमा कार्यरत सञ्चारकर्मीले समेत सूचना विभागद्वारा जारी गरिएको परिचयपत्र पाउनबाट बञ्चित छन् ।

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सञ्चारगृहले नियुक्तपत्र नदिँदा वास्तविक पत्रकारले विभागको परिचयपत्र लिन नपाएको र कतिपय गैरपत्रकारले विभागद्वारा जारी परिचयपत्र बोकेर दुरुपयोग गर्ने गरेको गुनासो धेरै आएको बताए ।

कडा नियम बनाएर पत्रकारिता पेशामा नरहेकाको विभागद्धारा जारी पास खारेज हुने र पेशामा रहेकाले विभागद्वारा जारी परिचयपत्र पाउने निष्पक्ष संयन्त्र नबनेसम्म यो बेथिति नहट्ने बताए । कान्तिपुर दैनिकमा कार्यरत लीला श्रेष्ठले सूचना विभागद्वारा जारी गरेको परिचयपत्र खोज्दा समाचार सङ्कलनकै लागि कार्यक्षेत्रमा खटिने क्रियाशील पत्रकारलाई निर्वाचनदेखि लकडाउनसम्ममा समस्या परेको बताए । उनले भने, “हाम्रा मिडियाहाउसले दिएको परिचयपत्र नै आधिकारिक भए पनि कतिपय अवस्थामा मान्यता नदिँदा समस्या भोगेका छौं, वास्तविक पत्रकारलाई समाचार सङ्कलनमा बाधा पुग्ने गरी समस्या आउनु भएन ।”

जिल्लाको हकमा यहाँका सुरक्षा निकायका प्रमुखदेखि अधिकांश सुरक्षाकर्मीसँग चिनेकाले परिचयपत्र देखाउनुभन्दा पनि मुख देखाएर समाचार सङ्कलन गर्नुपर्ने बताए । पत्रकार महासङ्घका कतिपय पदाधिकारीको समेत सूचना विभागद्वारा जारी परिचयपत्र छैन । नेपाल पत्रकार महासङ्घको निर्वाचनमा आफ्नो पक्ष वा सङ्गठनको बर्चस्व ल्याउनका लागि गैरपत्रकारलाई पनि पत्रकार महासङ्घको सदस्यता बनाउने र नियुक्तपत्र तथा सिफारिस गरेर केही साप्ताहिक पत्रिका एवं केही अनलाइनलले जथाभावी सिफारिश गर्दा सूचना विभागद्वारा जारी गरिएको परिचयपत्र दुरुपयोग हुने गरेको चौतर्फी गुनासो रहेको छ ।