पिसिआर प्रविधिबाट पत्रकारहरुको कोरोना परिक्षण गर्न प्रेस युनियन चितवनको माग

पिसिआर प्रविधिबाट पत्रकारहरुको कोरोना परिक्षण गर्न प्रेस युनियन चितवनको माग

चितवन – नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षण व्यवस्था मिलाई दिन माग गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलिले भट्टराईलाई ज्ञापन पत्र वुझाएको हो ।

पर्सामा पत्रकारहरुमा कोरोना संक्रमण भेटिए संगै जिल्लामा रहेका पत्रकारहरुमा पनि संक्रमणको हुन सक्ने भन्दै परीक्षणको माग गर्दै युनियनले ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्रमा भनिएको छ “नेपालमा कोभिड १९ देखिएसंगै यहाँका पत्रकारहरुले प्रत्यक्ष रुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वबिधितै छ । अतः चितवन जिल्लामा रहेर कार्यक्षेत्रमा खटिएर काम गरिरहेका पत्रकारहरुको तत्काल पिसिआर परीक्षणका लागि व्यवस्था मिलाईदिनुहुन अनुरोध छ ।”समयमानै परिक्षण भएमा संक्रमण देखिहालेमा ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्क संग काम गर्ने बातावरण सृजना हुने ज्ञापनपत्रमा उल्लेख छ ।

साथै जिल्लामा रहेका पत्रकारलाई संस्थाले दिएको परिचय पत्रका आधारमा हिडडुल गर्न पाउने गरि सुरक्षा निकायमा आवस्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको माग प्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षण गरिने बताए। उनले आँफु पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरीदिन आग्रह गरे ।

पत्रकारहरुको परिचय पत्रका आधारमा हिडडुल गर्न दिईएको भए पनि अनाबश्यक काममा वाहिर ननिस्कन उनको आग्रह थियो । यसै गरि युनियन चितवनले लकडाउनको समय सुरु भए संगै जिल्लामा रहेर पत्रकारीता गर्ने पत्रकारहरुलाई लक्षित गर्दै राहत बितरण, मास्क तथा सेनीटाईजर बितरण लगाएतका कामहरु गर्दै आएको छ ।

युनियनका अध्यक्ष ढकालले सामाजिक उत्तरदायित्व सगै पत्रकारको स्वास्थ्यको बिषयलाई पनि ख्याल राख्नु पर्ने बताए ।