महोत्तरीमा रहस्यमय मृत्यु प्रकरण : मृतकको संख्या ११ पुग्यो , सिंगो गाउ नै सोकाकुल

महोत्तरीमा रहस्यमय मृत्यु प्रकरण : मृतकको संख्या ११ पुग्यो , सिंगो गाउ नै सोकाकुल

महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मंगलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा पोखरेलले बताए ।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ संक्रमण हो/होइन यकिन गर्न स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । ‘मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘अब पीसीआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।’

थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका ती बस्तीमा रहेको छ । मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो ।

यसै बीच उत्ता ……….

अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ ।

उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

“यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने ।

एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए ।

ती मृत्यु भएका मध्ये १३ जनाको त शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ ।

अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको छ । कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक धेरै रहेको छ ।

अमेरिका अहिले कोरोना भाइरसका कारण सवैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सवैभन्दा अग्रस्थानमा पर्दछ ।

शनिबार दिउसोसम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ । ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अमेरिकामा अहिलेपनि देशभरी नौ लाख चार हजार १५३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी कुल संक्रमितको संख्या भने ३४ लाख १४ हजार २७ रहेको बेला कुल मृतकको संख्या दुई लाख ३९ हजार ७७७ रहेको छ ।